फिफा विश्व वरियतामा नेपाल यथास्थानमै

भदौ १, काठमाडौँ । फिफा विश्व वरियतामा नेपाल यथास्थानमा रहेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको अगष्ट महिनाको नयाँ वरियतामा नेपाल १ सय ६१ औँ स्थानमा यथावत रहेको हो ।

फिफाले सार्वजनिक गरेको वरियतामा नेपाल दक्षिण एसियाली राष्ट्रमा भने चौथो स्थानमा छ । नेपालभन्दा अघि भारत, अफगानिस्तान र माल्दिभ्स छन् ।

 

एक स्थान माथि उक्लिएको भारत ९६ औं स्थानमा पुगेको छ । यस्तै अफगानिस्तान १ सय ४५ र माल्दिभ्स १ सय ५० औं स्थानमा यथावत छन् ।

 

दक्षिण एसियाका अन्य मुलुक भुटान १ सय ८३, बंगलादेश १ सय ९४, श्रीलंका २ सय र पाकिस्तान २ सय १ औं स्थानमा छन् ।

 

एसियाली मुलुकमध्ये ५ स्थान माथि उक्लदै इरान ३२ औं स्थानमा रहँदै अगाडि छ । सात स्थान तल झरेको अष्ट्रेलिया दोस्रो तथा ६ स्थान माथि उक्लिएको जापान ५५ (तेस्रो) स्थानमा छन् ।

 

नयाँ वरियताको शीर्ष स्थानमा फ्रान्स पुगेको छ । विश्व बिजेता फ्रान्स ६ स्थान माथि उक्लदै शीर्ष स्थानमा पुगेको हो ।

 

एक स्थान माथि उक्लिएको बेल्जियम दोस्रो स्थानमा तथा १ स्थान तल झर्दै ब्राजिल तेस्रो स्थानमा पुगेको हो ।

सबैभन्दा धेरै १६ औं स्थान माथि उक्लदै क्रोएसिया चौथो स्थानमा पुगेको छ भने ९ स्थान माथि उक्लिएको उरूग्वे पाँचौ स्थानमा छ ।

 

यस्तै रूस सर्वाधिक बढी वरीयता सुधार गर्ने राष्ट्र बनेको छ । घरेलु भूमिमा सम्पन्न विश्वकपमा तहल्का मच्याएको रूसले २१ स्थान माथि उक्लदै ४९ औं स्थानमा पुगेको हो ।

 

यस्तै अर्जेटिन्ना र जर्मनी भने उत्कृष्ट १० मा पनि पर्न सकेनन् ।

0
Shares