सेनेगल कवितासङ्ग्रहमा प्रतिबिम्बित यथार्थ

साउन २९, काठमाडौँ ।
डा. विदुर चालिसे सृजना लेखनका साथै अनुसन्धानमा पनि क्रियाशील साहित्यकार हुन् । वि. सं. २०४७ मा नै युग बोल्छ शीर्षकको कवितासङग्रह प्रकाशित गरेर कविता यात्रा प्रारम्भ गरेका चालिसेले झण्डै पच्चीस वर्ष पछि दोस्रो कविता सङ्ग्रह लिएर आएका छन् । सेनेगल शीर्षकको यस सङग्रहका कवितामा कविले आजको समयमाथि आफ्ना विचार र प्रतिक्रिया व्यक्त गरेका छन् । जम्मा उनान्पचास ओटा कविता समावेश भएको यस सङ्ग्रहका कवितामा विविध अन्तर्वस्तुको प्रयोग गरिएको छ ।
जब चेतनाको प्रवेश हुन्छ, त्यहाँ असन्तुष्टिले जन्म लिन्छ । वास्तविकताले पोल्छ झकझकाउँछ । कवि चालिसेका यी कविताहरूमा पनि यस्तै यस्तै भाव र विचार पोखिएका छन् । वर्तमान समाजका विकृति र विसङ्गतिका साथै मानवीय मूल्यमा क्रमशः ¥हास आउँदै गएको परिस्थितिप्रति चिन्ता व्यक्त गर्ने सन्दर्भमा नै यी कविताहरू लेखिएका देखिन्छन् । कविका मन मष्तिष्कमा विभिन्न समयमा उत्पन्न हुने भावहरू समेटिएका यस सङ्ग्रहका केही कवितामा आशावादी र जीवनवादी दृष्टिकोण पनि व्यक्त भएका छन् । सेनेगल शीर्षकको कविताबाट कृतिको नाम राखिए पनि अन्तर्राष्ट्रिय विषयसन्दर्भ आएको  कविता यही एउटा मात्र देखिन्छ ।
प्रकृतिलाई सृष्टि जगत्को विराट सत्य मानेर प्रकृतिको महिमा गान गाइएका कविताहरू यस कृतिमा प्रशस्त छन् । यस्ता कविताहरूले कविको जीवन दर्शनलाई समेत अभिव्यक्त गरेका छन् । मानवीय जीवनका विविध यथार्थ र रहस्यहरूलाई प्रकृतिका विभिन्न स्वरूपसँग तुलना गरेर कविले आफ्ना भाव वा विचारको प्रकटीकरण गर्ने प्रयास यस सङ्ग्रहका कवितामा गरेका छन् । यस कृतिको प्रकृति पौरख शीर्षकको कवितामा कविले प्रकृतिको गुणहरूलाई देखाएर मान्छेका अवगुणहरूको सङ्केत गरेका छन् जस्तै :
कति शालीन निरन्तर प्रकृति
हिजो पनि त्यस्तै
आज पनि उस्तै
भोलि पनि यस्तै
एक रूप एक समान
प्रकृतिको अपार पौरखमा
मानिस भ्रमर झैँ आफ्नो जीवनको
प्रकृति पौरखको आस्वादन गरिरहेछ ।
कवि चालिसेले मानवीय संवेदनालाई समसामयिक परिवेशसँग जोडेर कवितामा व्यक्त गरेका छन् । खासगरी नेपाली जनताले पाएका दुःख, कष्ट, धोका र उनीहरूको विवशतापूर्ण जीवनको चित्र यस कृतिका केही कवितामा आएका छन् भने आजका मान्छेका कमी कमजोरी र विसङ्गत पक्षलाई पनि व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गरेका छन् । मान्छेमा मानवीय भावनाको कमी हुँदै गएको स्थितिलाई यस्ता कविताहरूले उजागर गरेका छन् ।
कवि विदुर चालिसे यस सङ्ग्रहका कविताहरूमा प्रकृतिप्रेमीका रूपमा देखिएका छन् । उनले यी कविताहरूका माध्यमबाट प्रकृतिको विविध रूप र स्वरूपसँग मान्छेको तुलना गर्छन् र प्रकृतिका अगाडि मान्छेको अस्तित्व केही नभएको तर्क गर्छन् । प्रकृतिको प्रतीकात्मक वर्णन यस सङ्ग्रहको कवितामा पाइने विशेषता हो र यो भाषा शैलीका दृष्टिले देवकोटेली शैलीसँग निकट देखिन्छ । कवितामा राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रसङ्गहरू पनि आएका छन् । विश्वजगत्मा मानव मानवका बीच बढ्दै गएका हिंसाप्रतिको असन्तुष्टि र यसले पारेको प्रभावप्रति गहिरो चिन्ता सङ्ग्रहका केही कवितामा पाईन्छ ।
नेपाली युवाहरूले  झेल्नु परेको बेरोजगारीको समस्या र यसबाट मुक्ति पाउन ज्यानको बाजी लगाएर वैदेशिक यात्रामा जान बाध्य भएको अवस्थालाई पनि यस सङ्ग्रहका कविताले प्रतिबिम्बन गरेका छन् । वैदेशिक रोजगारीमा गएका युवाहरूको यथार्थलाई शून्यमा बिलाएका आशाहरू शीर्षकको कवितामा कवि चालिसेले नेपाली युवाहरूको भयावह स्थितिलाई यस प्रकार देखाएका छन् :
कमाउन गएको छोरा
न्यानो कपडा लिन गएको बाबु
रेसमी साडी लिन गएको लोग्ने
आफ्नो स्वाभिमानलाई निचोरेर
विदेशको नाममा
उहिल्यै युद्धमा मरिसकेको थियो ।
कवि चालिसेको प्रस्तुत सङ्ग्रहका कतिपय कवितामा वर्तमानप्रति चरम निराशा र असन्तुष्टि अभिव्यक्त भएका छन् । हिजोका दिनमा देश र भविष्यलाई लिएर जेजस्ता सपनाहरू देखिएका थिए, ती सपनाहरू फूल्न नपाई झरेर गएकोमा कवि दुखी भएका छन् । देशको समृद्धिको चाहना राख्ने नेपालीमा देखिएका निराशा र उत्साहहीन पर्खाइलाई कविले प्रकृतिलाई प्रतीकात्मक रूपमा सूर्य बन्दना शीर्षकमा यस प्रकारले देखाएका छन् :
अँध्यारोपछिको अँध्यारो कुहिरो टाउको माथि कुदिरहेछन्
तैपनि तातो स्पर्शका लागि
हातको न्यानोलाई मुठ्ठीमा बाँधेर
कुहिरोको झुलमा खेलिरहेको छु ।
सधैँ यी निष्पट्ट रातहरूमा र अहिलेसम्म अन्धो धैर्यले
तिम्रो अभिवादनमा उभिएको छु ।
शान्ति र समृद्धिको स्वागतमा उभिएका नेपालीहरूका पर्खाइ केवल पर्खाइमा नै सीमित भएको यथार्थलाई व्यक्त गरिएको यस कवितांशमा यसप्रकारको प्रतीक्षालाई अन्धो धैर्य भनिएको छ । यस कृतिमा समावेश भएका कविताहरू कल्पनाप्रधान नभई यथार्थपरक छन् । यहाँ प्रेमीप्रेमिकाका नाममा सस्ता भावुकता पोखिएका छैनन्, सागरभित्रको मोती टिपेर ल्याउने महत्वकाङ्क्षाहरू पनि पालिएका छैनन् । समग्रमा यस सङ्ग्रहका कवितामा एक सचेत नेपाली नागरिकले आफ्नो देश, समाज, मान्छे र प्रकृतिका बारेमा बनाएको धारणा नै व्यक्त भएको छ । कविता यात्राको लामो समयपछि प्रकाशित भएको यस कृतिले कवि विदुर चालिसेको कवि व्यक्तित्वलाई स्थापित गर्ने महत्वपूर्ण का गरेको छ ।

0
Shares